राष्ट्र बैंकले चालु आर्थिक बर्षमा २ खर्ब ५६ अर्बको आन्तरिक ऋण उठाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले चालु आर्थिक बर्षमा २ खर्ब ५६ अर्बको आन्तरिक ऋण उठाउदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ। बैंकले सुचना जारी गर्दै ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउँन लागेको हो ।

बैकले मंसिर १२ देखि बोलकबोल सुरु हुने गरी उक्त आन्तरिक ऋणको तालिका निकालेको हो। जसमा ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँका दरले १५ अर्बको ट्रेजरी बिल जारी गर्दै छ । यो मंसिर १२ गते र पुस १८ गते जारी गर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

त्यस्तै २, ३ र ४ वर्षे गरी तीनवटा १५ अर्ब मूल्यका विकास ऋणपत्र जारी गर्ने तालिकामा उल्लेख छ । बैंकले ८ अर्बको २०८१ ‘छ’, दुई अर्बको २०८२ ‘छ’ र पाँच अर्बको २०८३ ‘ज’ नामक विकास ऋणपत्र जारी गर्ने भएको हो ।

दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँको ऋणपत्र उठाउने तयारी रहेकोमा तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने उल्लेख छ । तेस्रो त्रैमासिकमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ६० अर्बको ट्रेजरी बिल जारी गर्नेछ ।

त्यस्तै, २ वर्षेदेखि ६ वर्षे अवधिसम्मको २५ अर्बको विकास ऋणपत्र जारी गर्ने तालिकामा उल्लेख छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत ३ अर्ब ऋण उठाउने भनिएको छ । चौथो त्रैमासमा सरकारले १ खर्ब ३८ अर्बको आन्तरिक ऋण उठाउनेछ । जसमा ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र जारी गर्ने तालिकामा उल्लेख छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार १३:०५