पछिल्लो एक सातामै बैंकहरुको निक्षेप १७ अर्ब घट्यो, कर्जा लगानी भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पछिल्लो एक सातामै बैंकहरुको निक्षेप १७ अर्ब घट्यो, कर्जा लगानी भने स्थिर



काठमाडौं। एक सातामै वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो।

योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ। कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।

कात्तिकको सुरुवातदेखि भने वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ। गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ। गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुबाट कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। कात्तिक ११ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रुपैयाँ नै रहेको छ।

कात्तिकको सुरुवातदेखि भने वाणिज्य बैंकहरुबाट थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत असोज मसान्तसम्म कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।

कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो बढेर ८७.५८ प्रतिशत पुगेको छ। गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२३ प्रतिशत रहेको थियो।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १३:४७