डिजिटल कारोबारमा बढ्दैछ आकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

डिजिटल कारोबारमा बढ्दैछ आकर्षण



काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबारमा वृद्धि हुँदै गएको छ । सजिलो, सुरक्षित र पारदर्शी सुविधाका कारण डिजिटल कारोबारप्रति मानिसको आकर्षण बढ्न थालेको हो ।

कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । नेपालमा पछिल्लो एक बर्षमा वालेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ४८ लाख भन्दा बढी वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको भदौ महिनाको तुलनामा यस वर्षको भदौ महिनासम्ममा ४८ लाख ८९ हजार २५६ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।

गत वर्षको भदौ महिनासम्म ९६ लाख ३५ हजार ८८८ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता ५०.७४ प्रतिशतले बढेर यस वर्षको भदौ महिनासम्म आइपुग्दा एक करोड ४५ लाख २५ हजार १४४ जना पुगेका हुन् ।

वालेट प्रयोगकर्ता सँगै मोवाईल बैकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष भदौदेखिको यस अवधिसम्म ४० लाख १६ हजार ७९६ जना नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् ।

गत वर्षको भदौसम्म एक करोड ४८ लाख ७२ हजार ६३४ जना रहेकोमा यस वर्षको भदौ महिनासम्म आइपुग्दा उक्त संख्या बढेर एक करोड ८८ लाख ८९ हजार ४३० जना पुगेको हो ।

त्यस्तै डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । एक बर्षको अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड १३ लाख ४९ हजार ३६२ जना बढेका छन् । साथै, क्रेडिट कार्ड प्रयोगकर्ता पनि २ लाख ५८ हजार ४३ जना पुगेका छन् ।

एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि ४ लाख ९५ हजार ६५४ जनाले बढेका छन् । गत वर्षको भदौ महिनासम्म १२ लाख १० हजार ४३७ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर १७ लाख ६ हजार ९१ पुगेको तथ्यांकले देखाएको छ ।

यसका साथै, भदौसम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु ९ लाख ३३ हजार ८७५ जना पुगेका छन् ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलवार १४:१३