नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनको प्रतिवद्धता: आर्थिक विकासमा सघाउँछौं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनको प्रतिवद्धता: आर्थिक विकासमा सघाउँछौं



काठमाडौं । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले सक्रियता बढाएका छन् । उनले नेपाललाई आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष सिष्टाचार भेट गर्दै उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाएका हुन् ।

भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाए ।

उनले परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्दै क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मित्रराष्ट्र अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न निरन्तर सघाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै राजदूत थम्प्सनले गृहमन्त्री बालकृष्ण खाणसँग पनि सिष्टाचार भेट गरी आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि अमेरिकाका तर्फबाट नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले आफ्नो पहिलो वक्तव्य जारी गर्दै जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा अमेरिकाले नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

नेपालका लागि अमेरिकको राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको उल्लेख गर्दै राजदूत थम्पसनले सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित नेपाल–अमेरिका सम्बन्धप्रति अटल प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

नेपालको नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्न अग्रसर हुने राजदूत थम्पसनले जनाएका छन् ।

नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाठको अवसरमा आफ्नो कार्यकालभन्दा अगाडिको समय हेर्दै पछिल्ला ७५ वर्षका ठूला उपलब्धिलाई उछिन्ने आशा उनले व्यक्त गरेका छन् ।

राजदूत डिन थम्प्सनले विहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १२:४६