दुई महिनामा ३४.९ प्रतिशतले घट्यो निर्यात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई महिनामा ३४.९ प्रतिशतले घट्यो निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको दुइ महिनामा ३४.९ प्रतिशत निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दुई महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११५.४ प्रतिशतले बढेको निर्यात यस वर्ष भने घटेको हो ।

गन्तव्यका आधारमा भारततर्फ ४५.२ प्रतिशत र चीनतर्फ २१.६ प्रतिशत घटेको तथ्याङ्ले देखाएको छ भने अन्य मुलुकतर्फ भने १३.२ प्रतिशत निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैंचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, निर्यातसँगै आयात पनि घटेको छ । आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा कुल वस्तु आयात १३.० प्रतिशत घटेर २७३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको छ ।

यस्तै, दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशत घटेर.२४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोआयात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १२:४१