खानेपानी तथा सरसफाइ डिभिजनका दुई कर्मचारी २८ लाख घुस सहित पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खानेपानी तथा सरसफाइ डिभिजनका दुई कर्मचारी २८ लाख घुस सहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल(आठौं तह) र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । आयोगले उनीहरुलाई २८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरेको हो । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानी गर्दा उनीहरुले घुस बापत उक्त रकम लिएको खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरु दुबैलाई पक्राउ गरेपछि अनुसन्धानका लागि काठमाडौं ल्याउदै गरेको दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार १६:२९