राष्ट्र बैंकद्वारा भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधामा थप व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधामा थप व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी थप व्यवस्था गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी थप व्यवस्था गरेको हो।

यसअघि नेपालस्थित विदेशी राजदूतावास वा नियोगहरूले भिसा दस्तुरबापत संकलन गरेको नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनुपर्दा सम्बन्धित विदेशी राजदुतावास वा नियोगको आधिकारिक अनुरोधपत्रका आधारमा सम्बन्धित बैंकले यस्तो सटही उपलब्ध गराउन सक्ने व्यवस्था छ।

यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिनभित्र अनिवार्य रुपमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकले अब ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा देहायबमोजिमका सर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसाबापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय वा डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था थप गरेको हो।

भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास वा नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले थपेको छ। सोका लागि उल्लिखित भुक्तानीको व्यवस्था स्पष्ट रुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दूतावास वा नियोगको पत्रसमेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ। यस्तो कार्डको म्याद ई–भिसा प्रोसेसिङसम्बन्धी कार्य गर्नका लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले नियम ल्याएको छ।

राष्ट्र बैंकका अनुसार यस्तो कार्डबाट एकैपटक वा पटक–पटक गरी भुक्तानी हुन सक्नेछ र यस एकीकृत परिपत्र २०७८ मा अन्यत्र उल्लिखित कुनै पनि रकम भुक्तानीसम्बन्धी सीमा लागू हुने छैन। कार्ड जारी गर्न लिंक गरिएको नेरु खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिक रुपमा हिसाब मिलान हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ई–भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लिखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालना हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

ई–भिसा प्रणालीअन्तर्गत भिसा आवेदक नेपालीले ई–भिसा प्रणालीमा तोकिएबमोजिम शुल्क भुक्तानी (आफ्नो एकाघर परिवार सदस्यका लागिसमेत) आफ्नो नाममा एकीकृत इ.प्रा. परिपत्र ०७/२०७८ र १४/२०७८ बमोजिम जारी भएका परिवत्र्य विदेशी मुद्राको विद्युतीय कार्ड (प्रिपेड, डेबिट, क्रेडिट, अमेरिकी डलर ५०० को प्रिपेड कार्ड) बाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ। यस व्यवस्थाअन्तर्गतको भुक्तानीमा भने सम्बन्धित कार्डका लागि तोकिएको रकम खर्च गर्ने सीमा लागू हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार १३:४९