तत्काल ब्रोकर लाइसेन्स बाँड्न नपाउने, न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब हुनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तत्काल ब्रोकर लाइसेन्स बाँड्न नपाउने, न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब हुनुपर्ने



काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेर पठाएको नियमावलीमा नेपाल धितोपत्र बोर्डले तत्काल ब्रोकर लाइसेन्स बाँड्न नपाउने गरि संशोधन भएको छ ।

संशोधित नियमावलीमा नियमावली प्रारम्भ भएको तीन बर्षपछि बजारको आवश्यकताअनुसार नयाँ धितोपत्र व्यवसायीको लागि आबेदन खुला गर्ने र त्यसको लागि ३० दिनको अवधि दिने उल्लेख छ। नियमावलीको उक्त व्यवस्थाअनुसार धितोपत्र बोर्डले तीन बर्षपछि मात्र तीन तहको नयाँ ब्रोकर लाइसेन्स बाँड्न पाउनेछ।

संशोधित नियमावलीमा ‘यो नियमावली प्रारम्भ भएको तीन वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्न उल्लेख छ ।

त्यस्तै नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्‍याईएको छ। नियमावली अनुसार अब ब्रोकरको ३ तह रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर रहेका छन्।

जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चुक्ता पुँजी डेढ अर्ब तोकिएको छ । यद्दपि यसका लागि हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई निर्धारित पुँजीको सिलिङ पुर्याउन २०८२ सालसम्मको समय पनि दिईएको छ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार १६:०६