नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी,सबैभन्दा बढी भारत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी,सबैभन्दा बढी भारत



काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २२७ अर्ब ९५ करोड कायम रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण प्रतिवेदनमा कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ ।

सो अवधिमा चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको छ भने २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ । समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार १४:५९