‘धितोपत्र बजार सञ्चालन नियमावली २०७९’ जारी,नयाँ स्टकका लागि चुक्ता पुँजी कम्तीमा ३ अर्ब हुनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘धितोपत्र बजार सञ्चालन नियमावली २०७९’ जारी,नयाँ स्टकका लागि चुक्ता पुँजी कम्तीमा ३ अर्ब हुनुपर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९’ जारी गरेको छ । संशोधित नियमावलीमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, कारोबार सञ्चालन गरेको दुई वर्षभित्र आफ्नो जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन आइपीओ जारी गर्नुपर्ने उल्लेख गरेको छ ।

यो व्यवस्था हाल सञ्चालनमा रहेको स्टक एक्सचेञ्जालाई लागू नहुने समेत नियमावलीमा उल्लेख छ । नयाँ स्टकमा कानुन बमोजिम स्थापना भएका प्राइभेट कम्पनी वा संगठीत संस्थाले संस्थापक सेयर किन्न पाउनेछन् ।

कुनै एक कम्पनी वा त्यस कम्पनीको सञ्चालक वा सेयरधनी र निजका नजिकका नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५ प्रतिशत भन्दा बढी सेयर ग्रहण गर्न पाउने छैनन् ।

नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्थामित्व ग्रहण गर्ने भएमा सम्बन्धित मुलुकको नियमनकारी निकायबाट धितोपत्र बजार सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ।


त्यस्तै त्यस्ता विदेशी साझेदारले कम्तीमा १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानुनबमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृति दिएको हुनुपर्ने व्यवस्था पनि सेबोनले गरेको छ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार २०:५३