चालु आर्थिक वर्षको पहिलो महीनामा व्यापार घाटा एक खर्ब १६ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

चालु आर्थिक वर्षको पहिलो महीनामा व्यापार घाटा एक खर्ब १६ अर्ब



काठमाडौं । नेपालमा विभिन्न वस्तुको आयातमा प्रतिबन्धपछि नेपालको व्यापार घाटा कम भएको छ । अघिल्लो वर्षको सोही अवधिका तुलनामा व्यापार घाटा १०.३८ प्रतिशतले घटेको हो ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ भने गत आर्थिक वर्ष २०७८/७९ को सोहि अबधिमा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड व्यापार घाटा व्योहोरेको थियो ।

सरकारले गाडी, विदेशी रक्सी र विलासिताको बस्तु आयात रोकेकाले व्यापार घाटा केही मात्रामा घटेको देखिन्छ । चालु आवको पहिलो महिना साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड मूल्यका सामान आयात गरेको छ। यो अवधिमा नेपालले १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ।

आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.९ प्रतिशत र निर्यात २८.६८ प्रतिशतले घटेको छ। तथ्यांक अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले आयातमा कमी आएको हो ।गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ।

साउनमा सबैभन्दा धेरै २५ अर्ब ३ करोडको इन्धनजन्य खनिज तेल र यस सम्बन्धी सामग्री आयात भएको छ। त्यसै गरी १३ अर्ब ३ करोडको फलाम र फलामजन्य सामान आयात भएको छ। त्यस्तै, साउनमा २७ अर्ब ६५ करोडको कृषिजन्य वस्तु आयात भएको छ। यसअवधिमा २ अर्ब ४६ करोडको तरकारी, एक अर्ब ९० करोडको फलफूल आयात भएको छ।

यसअवधिमा कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार १४:१८