काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नेपाल–चीनसँग निकै लामो समयदेखि द्विदेशीय व्यापार हुँदै आएको छ । नेपालको प्रमुख छिमेकी चीन सरकार र नेपाल सरकारबीच कुटनीतिक तबरबाट व्यापारव्यवसायमा सहजीकरण हुने गरेको हामी सबैमा सर्वविदितै छ । प्राचीनकालदेखि नै नेपाल र चीनबीच दौत्य सम्बन्ध रहेको र १९१२ सालमा जंगबहादुर राणाका पालामा भएको सन्धिपछि चीन—नेपाल सम्बन्ध जनस्तरमा समेत फैलिएको इतिहास छ । विभिन्न समयमा भएका विभिन्न सन्धी सम्झौता पछि नेपाल र चीनबीचको व्यापार अझ धेरै सहज भएका उदाहरणहरु छन् । नेपाल र चीनबीच ऐतिहासिक पारवाहन सन्धी सम्झौता समेत भइसकेको छ । २६ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा भएका दुई देशबीचको सम्झौतामा पनि व्यापारको विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । दुई देशबीच लामो समदेखि सौहार्दपूर्ण व्यापारिक सम्बन्ध रहेकोमा केही समयदेखि भने तातोपानी तथा केरुङ नाकामा केही समस्याहरु देखिएका छन् । यतिबेला आयातित सामाग्रीहरु चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले नेपाल राष्ट्रिय व्यवसायी महासंघको ध्यानाकर्षण भएको छ ।
चाडपर्व लक्षित सामानहरु चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको छ । विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरुले निकै समस्या खेपिरहेका छन् । विविध समस्याका बावजुद चाडपर्व लक्षित सामाग्रीहरु अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुखद् कुरा हो । सीमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ । यसर्थ, नाकामा देखिएका समस्याहरु समाधान गर्नका लागि आवश्यक कुटनीतिक पहल गरी यथाशिघ्र यी समस्याहरु समाधान गरिदिनु हुन नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरुसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघ अनुरोध गर्दछ ।’
Comment