राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदन: तीन महिनामा १४ प्रतिशतको मूल्यवृद्धि हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदन: तीन महिनामा १४ प्रतिशतको मूल्यवृद्धि हुने



काठमाडौं । आगामी दिनमा महँगी घट्नुको साटो निरन्तर बढ्दै जाने संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले आगामी तीन महिनामा औसत मुद्रास्फीति दर १४.२ प्रतिशत पुग्ने सर्वेक्षण गरेको छ। सर्वेक्षणका अनुसार गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेको छ । यस्तो अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत वर्षको चैतको तुलनामा बढेको छ ।

राष्ट्र बैंकले सर्वेक्षणमा २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत् सर्वेक्षण गरेको थियो । सर्वेक्षण ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएको राष्ट्र बैंकको भनाइ छ ।

सर्वेक्षणमा ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत वर्ष चैत्रको तुलनामा घटेको छ ।

सर्वेक्षण गरिएका २८ सहरहरुमध्ये सबैभन्दा धेरै मूल्यवृद्धि जुम्लामा हुने देखिन्छ। आगामी तीन महिनामा त्यहाँ मूल्यवृद्धि दर ७७.३ प्रतिशत पुग्ने अनुमान छ। आगामी एक वर्षमा मूल्यवृद्धि दर घटेर ९.३ प्रतिशतमा सीमित हुने देखिन्छ। असारमा मूल्यवृद्धि दर २९ प्रतिशत रहने देखिन्छ।

यस्तै, काठमाडौंको हकमा आगामी तीन महिनामा मूल्यवृद्धि दर ‌औसतमा ११.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। एक वर्षमा काठमाडौंको मूल्यवृद्धि दर १३.५ प्रतिशत पुग्ने प्रक्षेपण छ। असारमा काठमाडौंको मूल्यवृद्धि दर १४.४ प्रतिशत रहने अनुमान सर्वेक्षणले देखाएको छ।


प्रकाशित : ९ श्रावण २०७९, सोमबार १५:१२