नेप्सेमा उछाल : नेप्सेसंगै कारोबार रकमपनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा उछाल : नेप्सेसंगै कारोबार रकमपनि बढ्यो



काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार सकारात्मक देखिएको छ । आइतबार नेप्से ६१.०५ अंकले बढेर दुई हजार ७८ दशमलब ५१ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स १२.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ४.२९ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा दुई अर्ब ७३ करोड ९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १७९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तिन कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, रिभर फल्स पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा पनि उच्च वृद्धि ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज एनएमबी डिभेञ्चरको र ग्लोबल आइएमई बैंक डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ३९ करोड ७१ लाख ३१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ८ श्रावण २०७९, आईतवार १५:३०