ज्योति लाइफको विशेष साधारण सभा साउन २४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ज्योति लाइफको विशेष साधारण सभा साउन २४ गते



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा साउन २४ गते, मंगलबार, पोखरास्थित, वाटरफ्रन्ट रिसोर्ट, लेकसाइडमा बिहान ११ बजेदेखि सुरु हुने तय भएको हो ।

सभामा सूर्या लाइफ र ज्योति लाइफबीचको मर्जर सम्बन्धी प्रस्तावहरू पारित गरिनेछ । यी दुई कम्पनीबीच असार १२ गते, आइतबार मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

विशेष साधारण सभाले मर्जर समितिबाट पेश भएका प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने एवंम सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिसमक्ष निवेदन दिने प्रस्ताव रहेका छन् ।

त्यस्तै, कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डीडीए) गर्नका लागि सञ्चालक समितिबाट मूल्यांकनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदन गर्ने लगायतका विशेष प्रस्तावहरू पारित गर्नेछ।

साथै सभामा कम्पनीको १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण शेयरमा रूपान्तरण गर्ने विशेष प्रस्ताव पेश गर्ने छ । रूपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १५:३९