चेम्बरद्वारा विचाराधीन आर्थिक विधेयक अघि बढाउन सभामुखलाई ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चेम्बरद्वारा विचाराधीन आर्थिक विधेयक अघि बढाउन सभामुखलाई ध्यानाकर्षण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताएका थिए। धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ। यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्बन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ।

बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे। उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म आग्रह गर्दछु।’

अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउनसमेत सभामुखलाई आग्रह गरे। गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ। गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानाकर्षण गरे।

संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु’, उनले भने, ‘बजेटसँग सम्बन्धित विद्येयकहरु करिब–करिब सकिएको छ। अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरुसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए। सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको भनाइ थियो।

सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झन्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १५:४७