हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए ?



काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो।

कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएका छन् भने १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि भाग्यमानि २ आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो।

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँट गरिएको हो।

प्रकाशित : २८ असार २०७९, मंगलवार ११:०१