११ महिनामा आयात २७.५ प्रतिशतले वृद्धि, व्यापार घाटा १६ खर्ब नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

११ महिनामा आयात २७.५ प्रतिशतले वृद्धि, व्यापार घाटा १६ खर्ब नजिक



काठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार एघार महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २०० अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७३ अर्ब २६ करोड रुपैयाँ बराबरको भएको थियो ।

प्रकाशित : २७ असार २०७९, सोमबार १७:२४