संघीय सरकारको १०३५ अर्ब ६१ करोड खर्च, राजस्व परिचालन ९४२ अर्ब बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

संघीय सरकारको १०३५ अर्ब ६१ करोड खर्च, राजस्व परिचालन ९४२ अर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा संघीय सरकारको कुल रु.१०३५ अर्ब ६१ करोड खर्च भएको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार एघार महिनाको अवधिमा चालु खर्चतर्फ रु.८१४ अर्ब ५४ करोड, पुँजीगत खर्चतर्फ रु.१३७ अर्ब ९६ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ रु.८३ अर्ब १० करोड रहेको छ ।

त्यसैगरी संघीय सरकारको कुल राजस्व रु.९४२ अर्ब १३ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ भने रु.८७२ अर्ब ५४ करोड र गैर कर राजस्व तर्फ रु.६९ अर्ब ५९ करोड परिचालन भएको छ ।

राष्ट्र बैकका अनुसार यस समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत रु.८५ अर्ब, विकास ऋणपत्रमार्फत रु.८९ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत रु.९७ करोड परिचालन गरी जम्मा रु.१७५ अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

नगद मौज्दातमा जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथास्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । गत बर्षको असार मसान्तमा यस्तो मौज्दात रु.१९८ अर्ब ७६ करोड रहेको थियो ।

प्रदेश सरकार त्यसैगरी समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रु.१६४ अर्ब १५ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१२५ अर्ब ५० करोड छ ।

प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.३८ अर्ब ६५ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु.११२ अर्ब २७ करोड रहेको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार १७:०४