नेपालमा उद्योगको संख्या ६० हजार,सबैभन्दा बढी उत्पादन क्षेत्रमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

नेपालमा उद्योगको संख्या ६० हजार,सबैभन्दा बढी उत्पादन क्षेत्रमा



काठमाडौं । नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । शुक्रबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक गणना २०७६ को अध्ययनले यस्तो देखाएको छ ।

तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । तर बीचमा कोभिड-१९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ ।

यस्ता औद्योगिक मध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

यस्ता उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिहरुको संख्या ४ लाख ९१ हजार २ सय २७ रहेको छ । जसमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ४ लाख ४४ हजार ९ सय ६४ जना आवद्ध छन् ।

यस्ता उद्योगहरुबाट रोजगार पाएका व्यक्तिको संख्या ३ लाख ८१ हजार ६ सय ८७ रहेको छ । यो अवधिसम्ममा सञ्चालित उद्योगहरुको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ बराबर देखिन्छ ।

नयाँ तथ्यांकअनुसार ७६ प्रतिशत उद्योग प्रतिष्ठानहरु वर्षमा २ सय ७० दिन सञ्चालन हुने गरेको देखिएको छ । त्यस्तै १९ प्रतिशत उद्योग प्रतिष्ठानहरु १ सय ८० देखि २ सय ६९ दिन, ४ प्रतिशत उद्योगहरु ९० देखि १ सय ७९ दिन र बाँकी १ प्रतिशत उद्योगहरु वार्षिक ९० भन्दा कम दिन मात्रै सञ्चालनमा रहेको देखिएको छ ।

त्यसैगरी पूर्ण क्षमतामा उत्पादन गरिरहेका उद्योगहरुको संख्या ३९.९ प्रतिशत रहेको छ । १८.७ प्रतिशत उद्योगले ७५ देखि ९९ प्रतिशत, २९.१ प्रतिशत उद्योगले ५० देखि ७४ प्रतिशत, १०.३ प्रतिशत उद्योगले २५ देखि ४९ प्रतिशत र बाँकी २५ प्रतिशत भन्दा कम उत्पादन क्षमतामा सञ्चालन भइरहेको देखिएको छ ।

विभागका अनुसार नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको हो । यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको जनाएको छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार १६:४५