काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारदेखि सर्बसाधारण सबैको ध्यान मौद्रिक नितिमा रहेको बताएका छन् । मौद्रिक नितिले समस्याको समाधान हुन्छ कि हुदैन् भन्ने चिन्ता यतिबेला सबैको मानसपटलमा रहेको उनले बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले राष्ट्र बैक तथा गर्भनरहरुले यसपालिको मौद्रिक निति निजी क्षेत्र मात्र नभएर सबैको अपेक्षा अनुरुप बनाउने आश रहेको बताए ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै देखा परेको बजारमा तरलता अभाव, बैंक ब्याजदर उच्च, घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो मूल्यवृद्धि जस्ता पक्षले उद्योगी व्यवसायीलाई समस्यामा पारेको उनको भनाइ छ ।
तरलता र तरलतासँग जोडिएर बहुपक्ष प्रभाव अर्थतन्त्रमा परेको छ । यस्तो विकराल समस्या उद्योगी व्यवसायीहरुले जीवनमा भोगेका थिएनौं ।’ आयात प्रतिवन्ध भएका वस्तुको सूची बढ्दै गएको र यसका बाबजुदपनि आयात नघटेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनले आगामी मौद्रिक नीतिमा बैंकमा लागू गरिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को अनुपात परिमार्जन गर्न सुझाव दिए । अध्यक्ष गोल्छाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन प्रोत्साहन गरिएको १ प्रतिशत थप ब्याज दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने अपेक्षामा आफूहरु रहेको उनले बताए । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए । बजार मूल्य वृद्धि ८ प्रतिशतको कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको उनले दाबी गरे । साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी सेयर बजारमा डुबेको बताउँदै उनले मौद्रिक नीतिले राहत दिने आशामा रहेको बताए ।
ट्रेजरी बिलको ब्याज १० प्रतिशत नाघेको छ । इन्टर–बैंकदर ५ प्रतिशत नाघेको छ । तरलता सुधार हुने संकेत छैन । व्यापार घाटा १६ खर्ब छ । शोधनान्तर घाटा २ खर्ब नाघेको छ, कुनै जादुको छडी छैन एकैपटक तरलताको समस्या समाधान गर्न, इन्धनको मूल्य एक वर्षमा डबल भएको छ । वाह्य क्षेत्रको सन्तुलनको चुनौती कायम नै रहेको बताए । यी सबै समस्या समाधानको रुपमा मौद्रिक निति आउने विश्वास रहेको बताए ।
Comment