नियमित उडान सञ्चालन गर्न सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नियमित उडान सञ्चालन गर्न सहमति



काठमाडौं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो ।

गृहमन्त्रालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको र वार्तापछि संघले उडान बन्द नगर्ने भएको छ। वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको छ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै जहाज र हेलिकप्टरहरू काठमाडौँ बाहिर पार्किङ गर्नुपर्ने नियमको विरोधमा जहाज र हेलिकप्टर नउडाउने निर्णय गरेको थियो । विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राती काठमाडौँ बाहिरका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेपछि संघले जहाज हेलिकप्टर नै नउडाउने घोषणा गरेको थियो ।

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेको भन्दै काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङ गर्न भन्दै आधार विमानस्थल तोकिदिएको थियो ।

संघले उडान नगर्ने निर्णय गरेपछि नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने र बन्द गरे पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित : ८ असार २०७९, बुधबार ११:०३