काठमाडौं । सरकारले कर नतिर्ने १९ व्यापारिक फर्म तथा कम्पनीका नाममा आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालयले मंगलबार सूचना जारी गरेको छ । व्यवसाय सञ्चालन गरेर राज्यलाई तिर्नु पर्ने करमा अटेर गर्ने फर्म तथा तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो ।
ठूला करदाता कार्यालयमा दर्ता रहेका करदाताहरुले लामो समयदेखि आफूले बुझाउनु पर्ने मुल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नबुझाएकोले सुचना जारी भएको मितिले १५ दिनभित्र तिर्न भनिएको छ । यदि यस्तो शुल्क तिरि सकिएको भए सोही अवधिभित्र प्रमाण पेश गर्न समेत भनिएको छ ।
उक्त अवधिभित्र वक्यौता रकम दाखिला नगर्ने करदाताहरुलाई मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ तथा आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ सम्मको प्रक्रियाहरु अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानुनी कारवाही गरी वक्यौता असुली गरिने चेतावनी समेत दिइएको छ ।
Comment