गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमः पर्यटन देखि कृषिसम्म प्रथामिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमः पर्यटन देखि कृषिसम्म प्रथामिकता



काठमाडौं । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न नेपाल सरकारसँगको समन्वयमा आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवाको गुणात्मक वृद्धि गरिने भएको छ ।

गण्डकी प्रदेशसभाको मंगलबार विशेष बैठकमा सरकार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई अघि बढाउनका लागि बृहत् गुरुयोजना निर्माण, बूढीगण्डकी करिडोरलाई बेनीघाटदेखि लार्केभञ्याङसम्म विस्तार गरिने उल्लेख छ ।

त्यसैगरी मुग्लिनदेखि नयाँपुल हुँदै दूधपोखरीसम्म मस्र्याङ्दी करिडोर, बेनीघाटदेखि मुग्लिनसम्म त्रिशूली करिडोर, मुग्लिनदेखि घुमाउने हुँदै देवघाटको शालिग्राम करिडोरमा जोड्ने सडकको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ ।

प्र्रदेशभित्र सुरुङ मार्ग निर्माण सम्भाव्यता अध्ययन, पोखराको पृथ्वीचोक र बागलुङ बसपार्कको स्तरोन्नतिका लागि पोखरा महानगर र नेपाल सरकारसँगको सहकार्यमा काम सुरु गर्ने, कोरला–त्रिवेणी सडकअन्तर्गत दुम्कीवास–त्रिवेणी खण्डको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सुरुङमार्ग र सतही मार्गको सम्भाव्यता अध्ययन अघि बढाइने सरकारको जनाएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना गर्दै खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गर्ने पनि जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० भित्र उज्यालो गण्डकी प्रदेश कार्यक्रम सम्पन्न गर्ने, विद्युत् खपत वृद्धि गर्न प्रोत्साहन, एलपी ग्यासलाई प्रतिस्थापन गर्न कार्यविधि बनाई विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन र विद्युतीय चुलो उत्पादन गर्ने उद्योग स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार ११:५०