अब जग्गाको कित्ताकाट ४ आना भन्दा कममा गर्न नपाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अब जग्गाको कित्ताकाट ४ आना भन्दा कममा गर्न नपाईने



काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गामा न्यूनतम एक सय ३० वर्गमिटर (४ आना) मा मात्र टुक्राउन पाइने छ ।

तर, कुनै कित्ताको आकार र क्षेत्रफल अमिल्दो भई सिमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएको अवस्थामा भने सोही प्रयोजनका लागि मात्र कित्ताकाट गर्न सकिने नियमावलीमा उल्लेख छ । जग्गाको कित्ताकाट गर्न सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड बनाउने भएका छन् ।

निमायवली अनुसार ५ सय वर्गमिटर भन्दा सानो कित्ताको जग्गाको चौडाइ भन्दा लम्बाइ चार गुणा बढी हुनु पर्ने समेत प्रावधान नियमावलीमा समेटिएको छ । तराई र भित्री मधेशमा ६ सय ७५ मिटर भन्दा सानो हुने गरी कृषि क्षेत्रको कित्ताकाट गर्न नपाइने भएको छ । यी भू-भागभन्दा बाहेक भने एक हजार वर्ग मिटर हुनुपर्ने गरी तोकिएको छ ।

नियमावली अनुसार जग्गाको चक्लाबन्दी, एकीकरण, बस्ती विकास, सामूहिक खेती तथा सहकारी खेती सम्बन्धी आधार, मापदण्ड र कार्यान्वयन योजना बनाएर प्रदेश सरकारले लागू गर्न सक्ने भएका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलवार १६:४७