निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो



काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि भएको बताएको छ। गत बैशाखमा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धि आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको छ।

गत फागुनमा सो बैंकको निक्षेप २१.६७ प्रतिशतले र कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको छ। २७ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ।

वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धि दर ५ प्रतिशत रहेको छ। त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्धि भएको छ। औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ।

अहिले वाणिज्य बैंकहरूसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ। फागुन महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप २२ अर्ब रूपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रूपैयाँले विस्तार भएको छ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ।

औसतमा बैंकहरूको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ। हाल बैंकले २ सय १३ शाखा, १ सय ४७ एटिएम र ४७ एक्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १३:२५