नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘ शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘ शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण



काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ ।

स्व. पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आएका थिए । स्व. पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् ।

उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

पुरस्कारको रकम रु. ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने जनाईएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि निम्न कर्मचारीहरुको सन्तानहरुलाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ । कर्मचारी उदय राज खनालकी छोरी उनिका खनाल, सन्देश राज भट्टराईका छोरा दिपसन भट्टराई, मुरारी प्रसाद अर्यालका छोरा मुकुल अर्यालले छात्रवृत्ति पाउनेछन् ।

नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले स्व.शम्भु प्रसाद पौड्यालले बैंकलाई पु¥याएको लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए ।

साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार ११:५४