‘फारवेष्ट ट्राभल मार्ट’सम्पन्न, क्रस बोर्डर पर्यटनका लागि मार्ट कोसेढुङ्गा : सिइओ रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

‘फारवेष्ट ट्राभल मार्ट’सम्पन्न, क्रस बोर्डर पर्यटनका लागि मार्ट कोसेढुङ्गा : सिइओ रेग्मी



काठमाडों । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि शुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न भएको हो ।

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना गरिएको हो ।


मार्टमा सिमावर्ती भारतीय शहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर,र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी सम्पन्न भएको थियो ।


यस्तै मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु रहेका थिए । कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान भएको छ । मार्टकै अवसरमा टुर अपरेटरहरुलाई यस क्षेत्रका कर्णाली,शुक्लापाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रहरुको अवलोकन भ्रमण गराइएको थियो ।


काठमाण्डौं लुम्बिनी र चितवन केन्द्रित नेपालको पर्यटन बजारलाई विकेन्द्रीत गर्दै सबै क्षेत्रमा पर्यटनको पहुच र विस्तार गर्ने सोचका साथ पर्यटनले देशका विभिन्न भागमा मार्टको आयोजना गरेको र यस्ता मेला र मार्टले क्रसबोर्डर पर्यटनलाई थप प्रवद्र्धन गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताएका छन् ।


“कोभिडले थलिएको पर्यटनलाई पुनर्जिवित गर्न तथा नेपालको सीमामा भएको ठूलो भारतीय जनसंख्यालाई नेपालमा आर्कषित गर्न यस्ता मार्ट सहयोगी हुने हाम्रो अपेक्षा हो । नेपालगञ्ज, धरान र धनगढिमा सम्पन्न यी मेलामा भारतीय व्यवसायीहरुको सहभागिताले नेपालमा भारतीय पर्यटकहरुको आगमन बढ्ने विश्वास लिएका छौं ’ उनले भने । सिइओ रेग्मीले नेपालका विभिन्न प्रदेशमा भएका यी मार्टले अन्तर प्रदेश तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत ठूलो भूमिका खेल्ने बताएका छन् ।


सुदुरपश्चिम प्रदेशमा पर्यटनको अथाहा सम्भावना रहेको अवस्थामा यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मेला फलदायी भएको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । सुदुरपश्चिम प्रदेशमा पर्यटकहरुको रोजाईमा पर्न सक्ने थुप्रै रमणिय, घुम्नलायक ठाउँहरु भएपनि प्रचारप्रसार अभावमा ति ठाउँ ओझेलमा परेको अवस्थामा आयोजना गरिएको मार्टले पर्यटन ब्यवसायिहरुको ध्यान तान्न र यहाँका पर्यटकिय स्थलमा बाह्य पर्यटकहरुको आकर्षित गर्न मार्ट सफल भएको नाटा फार वेष्टका अध्यक्ष तथा मार्ट संयोजक माया प्रकाश भट्टले प्रतिक्रिया दिएका छन् । मार्टको चैत्र २५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलले उद्घाटन गरेका थिए ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार १३:४३