काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्षपनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् । उनले भने,‘कोभिडपछि विश्व अर्थतन्त्र रिकोभरीको बाटोमा गएको थियो । रसिया–युक्रेनको युद्धको कारणले नेपालमात्रै नभएर ईस्ट एसियाका मुलुकमा प्रभाव देखिएको छ । एउटा म्यानुफ्याक्चरिङ सेक्टरमा, कच्चा पदार्थको आपुर्ति प्रभावित भएको छ। कच्चा पदार्थको परीमाणमा त्यस्तो धेरै ठूलो असर नभएपनि, त्यसको केही संवेदनशील वस्तु छन्, कार उत्पादनको लागि चाहिने त्यसमा प्रभाव परेको छ । सप्लाई चेनलाई समस्या परेको छ । अन्तर्राष्ट्रियस्तरमा यो सेक्टर प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि परेको छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको मुद्रा स्फितीमा पनि समस्या परेको उल्लेख गरे । उनले भने,‘अहिले सार्वजनिक मुद्रा स्फितीमा दबाब परेको छ। चाप परेको छ। अमेरिकामा मुद्रा स्फिती २ प्रतिशत भैरहेको हुन्थ्यो, अहिले अमेरिकामा मार्चको ईन्फ्लेशन ८ देखि १० प्रतिशत पुग्छ कि भन्ने आँकलन आईरहेको छ । विकसित मुलुकपनि अहिले मूल्यवृद्धिको चापमा परेका छन् । उनीहरु विदेशी मुद्रा स्फितीको चापमा परेका छन् । किनभने म्यानुफ्याक्चरिङको आपूर्ति प्रभावित भएको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको छ । विदेशी विनिमय सञ्चिती पनि प्रभावित भएको छ । श्रीलंका र पाकिस्तानजस्तो मुलुकहरु विदेशी विनिमय सञ्चितिको दबाबमा छन् । हामी पनि दबाबमा छौं ।’
उनले अर्थतन्त्र चलाउने कुरामा चूनौती थपेको पनि सुनाए । उनले भने,‘ मुद्रा स्फितीको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, त्यसको परिणामस्वरूप हामीकहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति छ। उद्योगहरुको कञ्चा पदार्थको आपुर्ति हुन सकेको छैन् । विदेशी विनिमय सञ्चिती गत वर्षभन्दा उल्लेखनीय घटेको हो । गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने सञ्चिती थियो । अहिले त्यो घट्दै गएको छ । अहिले साँढे ६ महिना धान्नसक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढि गएको छ । यो भनेको विदेशी विनिमय सञ्चितीमा दबाब हो ।
शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट आयो ? भन्ने कुरा हेर्द शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको छ । यो भनेको विनिमय सञ्चिती घटेको हो । भोलि खाद्यान्न, औषधीहरु आयातमा प्रभावित हुँदैन त ? भन्ने चिन्ता बढेको छ। विदेशी विनिमय सञ्चितीलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्र बैंकले पेट्रोलियम पदार्थको किफायती गर्न सकिन्छ ? सुन÷चाँदीको आयात रोकौं । विदेशी सञ्चितीमा ठूलो दबाब पर्दा भोलि औषधी नै किन्न पनि समस्या हुनसक्छ ।’
भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको सुनाए ।
Comment