अमेरिकाको क्यालिफोर्नियामा नयाँ बर्षमा “नेपाल डे परेड” आयोजना हुँदैं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अमेरिकाको क्यालिफोर्नियामा नयाँ बर्षमा “नेपाल डे परेड” आयोजना हुँदैं



काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा नेपाली नयां वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” आयोजना हुने भएको छ । एनआरएन युएस पश्चिम तटीय क्षेत्र र क्यालिफोर्निया च्याप्टरले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाली नयां वर्षको उपलक्ष्यमा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा “नेपाल डे परेड” आयोजना गर्न लागेको हो ।

अप्रिल ९ तारीख शनिबारका दिन बिहान ११ बजे सान् फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर कोण सभामा परिणत हुनेछ। कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट हजारौंको संख्यामा सहभागीहरु उपस्थित हुने मूल आयोजक समितीका संयोजक श्रीराम थापाले बताए ।

एनआरएनएले विभिन्न स्थानीय संघसंस्थाहरुसंग सहकार्य गरेर आयोजना गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाहरुको प्रत्यक्ष संलग्नता रहने बताईएको छ । विभिन्न संस्थाहरुले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झांकी र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको संघ संस्था संयोजन समितीका संयोजक उत्तम कार्कीले जानकारी दिए।

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराई लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयांलले जानकारी दिए ।

३० डलर प्रवेश शुल्क तोकिएको उक्त कार्यक्रमको टिकट www.thingsnepali.com बाट लिन सकिने आयोजकले जनाएको छ । मुलतः अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीलाई नेपालसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको राजन कँडेलले जानकारी दिए ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार १५:०६