एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने



काठमाडौं । एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमका बीच एएसी इँटा उद्योग प्रालिका अध्यक्ष निकोलस पाण्डेले सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् ।

ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने र पाण्डेबीच दुई पक्षीय हस्ताक्षरसमेत भएको छ । निरन्तर ६० घण्टाभन्दा बढी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व रेकर्ड कायम गरेका लामिछानेलाई ब्रान्ड एम्बेस्डरका रुपमा सहकार्य गर्न पाउँदा खुसी लागेको अध्यक्ष पाण्डेको भनाइ छ ।

एएसी इँटाप्रति आममानिसको भरोसा दिलाउन लामिछानेलाई छनौट गरिएको पाण्डेले बताए । ‘जसरी सञ्चारकर्मी लामिछानेप्रतिको भरोेसा आमसर्वसाधारणमा छ, त्यसैगरी इँटामा पनि भरोसा दिलाउने हाम्रो उद्देश्य हो’ अध्यक्ष पाण्डेले भने ।

निर्माण जगतमा नयाँ आयाम थप्ने योजनाका साथ २०७२ सालको भूकम्पपछि फुरेको सोचलाई उद्योगसम्म पुर्याउन सफल भएको बताउँदै यसलाई सबैले अपनत्व हुने गरी गुणस्तरमा ध्यान दिँदै आएको उनले बताए । यस्तै ब्रान्ड एम्बेस्डर लामिछानेले युवाहरुको सोच र जोसलाई साथ दिनका लागि यो कम्पनीसँग आबद्ध भएको बताए ।

करिब ३ बर्षको लागि ब्राण्ड एम्बेस्डरका रुपमा एएसी इँटासँग जोडिएको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्नसमेत आग्रह गरेका छन् । ‘इँटामा कुनै समस्या आए सबैभन्दा पहिला विरोध जनाउने म हुनेछु’, उनले भने, मेरो विश्वास र भरोसालाई टुट्न दिनुहुन्न भन्ने लागेको छ ।’

साथै सञ्चारकर्मी लामिछानेले ब्रान्ड एम्बेस्डर बनेबापत पाउने पारिश्रमिक शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्घोषसमेत गरेका छन् । ‘ब्रान्ड एम्बेस्डर बनेबापत आउने रकम म व्यक्तिगत रुपमा प्रयोग गर्दिनँ’, लामिछानेले भने, ‘शिक्षा क्षेत्रका लागि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको छु । प्राप्त रकम पनि त्यहीँ दिनेछु ।’

लामिछानेले यसअघि राइनासकोट अस्पताल निर्माण गरी समूदायलाई हस्तान्तरण गरेका थिए ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मदन खड्काले सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरको रुपमा भित्र्याउन पाउँदा खुसी लागेको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए । सर्वसाधारणसम्म इँटाको प्रयोगबारे जनचेतना फैलाउन लामिछानेलाई आबद्ध गराउँदा कम्पनीप्रतिको विश्वास पनि बढ्दै जाने उनको भनाइ छ ।
सन् २०१५ बाट सुरु भएको यो इँटा हलुका तथा वातावरणमैत्री मानिन्छ । विश्वका धेरै मुलुकमा प्रयोग भइसकेको एएसी इँटाको नेपालमा पनि ठूला भवन तथा अस्पतालहरुमा प्रयोग हुँदै आएको छ ।

पूर्णरुपमा प्राकृतिक सामग्रीहरुको मिश्रणबाट उच्च प्रविधि प्रयोग गरी बनाइने हुँदा वातावरणमैत्री हुनाका साथै जलवायु विविधताका लागि पनि उपयुक्त निर्माण सामग्री रहेको कम्पनीको भनाइ छ । बालुवा,सिमेन्ट,चुना,आल्मुनियम पाउडर र जिप्सनसँग पानीको मिश्रण गरी एरिएटेड प्र्विधिबाट पूर्णस्वचालित अटोक्लेभ्ड मेशिनबाट निर्माण हुने गरेको जनाएको छ ।

साधारण ईट्टा भन्दा एक तिहाई र आरसिसि भन्दा एक चौथाई घनत्व कम हुने हुँदा भवनको भार कम गराउने साथै भवनलाई भुकम्प जाँदा लड्ने सम्भावनालाई न्यन गराउने र ६ घण्टासम्म अग्नि वहन समेत गर्ने दाबी कम्पनीको छ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार १३:५५