सनराइज बैंकको स्वास्थ्य योजनाः १ लाखको ओपीडी, ५ लाखको दुर्घटना बीमा र सुत्केरीलाई १० हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सनराइज बैंकको स्वास्थ्य योजनाः १ लाखको ओपीडी, ५ लाखको दुर्घटना बीमा र सुत्केरीलाई १० हजार



काठमाडौं । सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।

बैंकले स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाख रुपैयाँसम्मको बिमा दिएको जनाएको छ । साे बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिने जनाइएको छ ।

साे बैंकले पाँच लाखसम्म दुर्घटना बीमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्चसमेत स्वास्थ्य योजनाअन्तर्गत दाबी गर्न सकिने जनाइएको छ ।

नारीलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरूप बैंकले नारी बचत खाता भएका महिलालाई पाँच लाखसम्मको घातक रोग खर्च दिने भएको छ । महिलामा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटुरोगलगायत १८ घातक रोगहरू यसले समेट्ने जनाइएको छ ।

महिलालाई प्रसूति खर्चस्वरूप १० हजार रुपैयाँसम्म पनि दिइने बैंकले जनाएको छ । उक्त प्रसूति खर्च भने सरकारी तथा अर्धसरकारी अस्पतालमा प्रसूति गराउँदा लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ५९ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १४:४४