काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । यद्धपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो ।
उनले भने,‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’
रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । एमाले ईतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायतविरोधी, बुहदल ल्याउन होस वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो । शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका छ । नयाँ संविधान बनेपछि एमाले अथवा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तिव्र रुपमा अघि बढाएको थियो, विकास निर्माणका काम अहिलेपनि अघि बढिरहेका छन् । राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपँक्तिमा उभिएको छ । यो कारणले हामीलाई जनताले ठूलो समर्थन जनाएका छन्।’
उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हाँसिल गर्ने दाबी गरे ।
Comment