कामना सेवा र अन्तरप्रेरणाद्वारा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा र अन्तरप्रेरणाद्वारा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न



काठमाडौँ । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ । माघ २ देखि ६ गतेसम्म जुम मिटिङको अनलाइन माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक व्यक्तिहरुको सहागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गरेका छन् । यसका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा बैंकका अध्यक्ष्य सुदिप आचार्यले, यस्ता कार्यक्रमहरुले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताए । यसका साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उनीहरुको नवीन सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने बताए ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीलाई अन्तरक्रियात्मक सहभागिताको लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरुमा सहभागीहरुको सफल उद्यमको लागि शुभकामना दिए । यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताए ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार ०९:२५