गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरूरु एकै ठाउँमा उभिएका छन् ।

संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् । शेखरलाई गृह जिल्ला माेरङमा नै कमजोर पारेको सन्देश दिन नेताहरू एकै ठाँउमा उभिएका हुन् । 

पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डीगबहादुर लिम्बु र पूर्वसचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार थिए । जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याएका थिए ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज मंगलबार पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौलालगायतका नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले साेमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोष्णा गरेका छन् ।

विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् ।

नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेकाे छ । यसले मोरङको जिल्ला सभापतिको निर्वाचन रोचक पनि बनेको छ ।  

लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धाकाे परिस्थिति निर्माण भएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जाेखिम  मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूलाई पनि आआफ्नो राजनीति जोगाउन चुनौति थपिएको छ ।

पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताए । तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उनले दिएका छन् । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग लिएका उनले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताएका छन् । 

विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइरला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुराकानि गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाए । आफू कोइराला क्याम्प नछाडेको उनले घोषणा गरे ।

मतदान आज बिहान १० बजेदेखि हुँदैछ ।  

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार ०८:०५