नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकासका निम्ती नविल एसएसई कार्यक्रम सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकासका निम्ती नविल एसएसई कार्यक्रम सुरु



काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) शुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरेको बैंकले जनाएको छ ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्येश्यका साथ NABIL SSE ले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल/कलेज तथा विश्वबिद्यालय सँग सम्झौता गरेको छ ।

कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेज संग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सँग सम्झौता बैंकले आजै गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको लागि तालिम दिने छ । उनिहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १५:११