सर्लाहीको नवलपुरमा नयाँ सबस्टेसन, विद्युत् चुहावट घट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सर्लाहीको नवलपुरमा नयाँ सबस्टेसन, विद्युत् चुहावट घट्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो । 

सबस्टेसन स्थापनापछि सर्लाहीमा विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनुको साथै आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई सहज हुने विश्वास लिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सन्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र चुहावट घट्ने बताए । ‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनको ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो,’ घिसिङले भने । अब नवलपुर सबस्टेसनबाट सिधँै विद्युत आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ । विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ । 

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुपइन) र बाहिरिने (लुपआउट) छ । यहीँ १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।  सबस्टेसनमा १३२÷३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३÷११ केभी वितरण सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ । 

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) ०७४/०७५ र मुख्य निर्माण आव ०७५/०७६ मा सुरु भएको थियो । कोभिड–१९ महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरन्जन साहले बताए । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।

प्रकाशित : ७ कार्तिक २०७८, आईतवार १६:१५