७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हट्यो



धनगढी । कैलाली क्षेत्र नम्बर–५ बाट ०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ । ओझा क्रियाशील सदस्य रहेको कैलाली–५ ‘ख’ अन्तर्गत धनगढी–५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक गरेको छ । तर सो सूचीमा अ‍ोझाको नाम भने छैन ।

०७४ सालमा सम्पन्न आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै ओझालाई कांग्रेसले कारवाही गरेको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा देउवा कैलाली–५ बाट संघीय सांसदका लागि चुनावमा उठेकी थिइन् । उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।

निर्वाचनमा अन्तरघात गरेको आरोपमा ओझासँगै कारवाहीमा परेका अन्य व्यक्तिको भने क्रियाशील सदस्यता नवीकरण भएको कांग्रेस सचिव पूर्ण कुँवरले बताए । ‘ओझासँगै कारवाहीमा परेका अन्य केही व्यक्तिको क्रियाशील सदस्यता नवीकरण भएर आएको देखिएको छ,’ उनले भने, ‘पुष्करनाथ ओझाको सदस्यता भने नवीकरण भएको छैन ।’

प्रकाशित : १३ आश्विन २०७८, बुधबार १६:२९