ओखलढुंगामा कांग्रेस अधिवेशनः पालिकामा प्यानबीच प्रतिस्पर्धा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ओखलढुंगामा कांग्रेस अधिवेशनः पालिकामा प्यानबीच प्रतिस्पर्धा हुने



ओखलढुंगा । नेपाली कांग्रेसको पालिका तहका अधिवेशनसम्मै प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका आठवटा स्थानीय तहको निर्वाचन शनिबार हुँदै छ । आठै स्थानीय तहमा संस्थापन र पौडेल-कोइराला खेमाबीच प्यानलै प्रतिस्पर्धा हुने भएको छ ।

सबै तहमा दुवै पक्षबाट पालिकाको मुख्य पदाधिकारीमा प्यानलै उम्मेदवारी घोषणा भएको छ । सभापति तथा अन्य पदका उम्मेदवारहरूले कुनै प्यानलबाट नभने पनि दुई खेमाबाट एक-एक जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

एक नगरपालिकासहित आठवटा स्थानीय तहका सभापतिहरू दुई खेमाका छुट्टाछुट्टै तय भएका छन् । पालिका तहको सबै तयारी पूरा गरेर मतदान अधिकृत पालिका केन्द्रमा खटाइएको कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारले बताए ।

उनले चम्पादेवी गाउँपालिकामा सहमति हुन सक्ने संभावना रहेको तर अन्य तहमा भने चुनावै हुने निश्चित जस्तो देखिएको जानकारी दिए । सुनुवारले भने, ‘कम्तीमा दुई जनाका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।’

शनिबारै निर्वाचन सम्पन्ने हुने गरी जनशक्ति व्यवस्थापन भइसकेको सभापति सुनुवारको भनाइ छ ।

कोको भिड्दै छन् पालिका सभापतिमा ?

जिल्लाको केन्द्रविन्दुका रूपमा रहेको सिद्धिचरण नगरपालिकामा प्रेम गुरुङ र निबन्ध श्रेष्ठबीच प्रतिस्पर्धा हुँदै छ । गुरुङ संस्थापन खेमाका उम्मेदवार हुन् भने श्रेष्ठ पौडेल-कोइराला खेमाबाट चुनावी मैदानमा छन् । व्यावसायिक पृष्ठभूमिका श्रेष्ठ उद्योग बाणिज्य संघ ओखलढुंगाका सचिव तथा सदरमुकामका स्थायी बासिन्दा हुन् भने गुरुङ रुम्जाटारका बासिन्दा हुन् । गुरुङ सभापति प्रदीप कुमार सुनुवार निकट हुन् ।

त्यस्तै, चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई चुनावी मैदानमा छन् । थापा संस्थापन हुन् भने राई संस्थापनइतरका उम्मेदवार हुन् । मानेभञ्ज्याङ गाउँपालिकामा देव पुलामी मगर र राजकुमार राई मैदानमा छन् । राई संस्थापनइतरका उम्मेदवार हुन् । यो कांग्रेस नेता रामहरि खतिवडाको गाउँपालिका पनि हो । उनको समर्थन देव पुलामी मगरलाई रहेको बताइन्छ ।

त्यसैगरी चम्पादेवीमा विष्णु पुलामी र भुवन राउत मुख्य दाबेदार हुन् । अन्य दुई जनाले पनि दाबी गरेकाले सहमति प्रयास भइरहेको कांग्रेस जिल्ला सभापति सुनुवारले बताए ।

खिजीदेम्बामा रामुकुमार सुनुवार र मानबहादुर महतराबीच प्रतिस्पर्धा छ । सुनुवार संस्थापन खेमाका उम्मेदवार हुन् भने महतरालाई संस्थापनइतर समूहले अघि सारेको छ ।

लिखुमा कुमार सुवेदी र रमेश घिमिरेबीच प्रतिस्पर्धा छ । सुनकोसीमा विष्णुबहादुर खड्का र हरिचन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा छ । सुनकोसीमा ढुण्डीराज पहाडीले पनि दाबी गरेका छन् ।

मोलुङमा गोपी कार्की र महेन्द्र कार्कीबीच प्रतिस्पर्धा छ । गोपी कार्की संस्थापन खेमाका हुन् भने महेन्द्र संस्थापनइतरका हुन् । जिल्ला सभापतिका उम्मेदवार बालकृष्ण दाहालको पालिका भएकाले यस पालिकाको चुनावलाई महत्त्वका साथ हेरिएको छ ।

पालिकाको निर्वाचनले जिल्लाको निर्वाचनलाई प्रभावित पार्ने देखिएको छ । पालिकामा कुन खेमाका उम्मेवार विजयी भएर आउँछन् त्यही पक्षले जिल्लाको नेतृत्व चयनमा प्रभाव पर्ने भएकाले नेताहरू आफ्नो खेमाकालाई नेतृत्वमा पुर्‍याउन जुटेका छन् ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार २०:२३