बाइडेनको सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘कोभिड नियन्त्रण उन्मुख छ, निरन्तर सहयोग चाहन्छौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाइडेनको सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘कोभिड नियन्त्रण उन्मुख छ, निरन्तर सहयोग चाहन्छौं’



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कोभिड महामारी नियन्त्रणतर्फ गइरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय महासभाका दौरान राष्ट्र प्रमुखसँग अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित भर्चुअल सम्मेलनमा प्रधानमन्त्री देउवाले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरेर कोभिड १९ संक्रमण नियन्त्रणतर्फ गइरहेको बताए ।

देउवाले एक चौथाई जनसंख्याले पूर्ण खोप पाइसकेको र आधा जनसंख्यालाई छिट्टै पहिलो मात्रा खोप उपलब्ध गराउनेतिर आफूहरू लक्षित रहेको बताए ।

‘आधाभन्दा बढी जनसंख्याले पहिलो मात्रा खोप लगाइसकेको छ । तत्कालै आधा जनसंख्यालाई छिटोभन्दा छिटो पहिलो मात्रा भए पनि खोप उपलब्ध गराउनेतर्फ लक्षित छौं । एक चौथाईले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १० मिलियन डोज आपूर्ति हुने पक्का भइसकेको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले अब १२ देखि १८ वर्ष उमेर समूहलाई लक्षित गरेको र पूर्ण खोप दिने लक्ष्य रहेको बताए । ‘२०२२ भित्र लगाइसक्ने लक्ष्य छ । त्यसका लागि जनशक्ति र संयन्त्रको परिचालन गरिरहेका छौं,’ उनले भने ।

अहिले विश्व नै कोभिड-१९ महामारीको प्रकोपसँग जुधिरहेको भन्दै देउवाले नेपालले आफूलाई स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा केन्द्रीत गरेको पनि जानकारी गराए । ‘अक्सिजनको आपूर्ति, अत्यावश्यक स्वास्थ्य सामग्री, परीक्षणको दायरा बढाएको र अन्य क्षमता विस्तारको काम जारी राखेका छौं । आमनागरिकलाई महामारीबारे सचेत गराइरहेका छौं,’ उनले भने ।

कोभिड महामारीमा सहयोगका लागि देउवाले मित्र राष्ट्रहरूलाई धन्यवाद पनि दिए । ‘सहयोगी सम्पूर्ण मित्रहरूमा धन्यवाद । तपाईहरूको साथ सहयोगले विश्व स्वास्थ्य सुरक्षामा सहयोग पुगेको छ । विकासका पनि तपाईहरूको निरन्तर सहयोग चाहन्छौं । सहयोगी मित्रहरूमा फेरि पनि धन्यवाद,’ उनले भने ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार १२:५९