वृद्ध भत्ताबाट विद्यालयमा ई–लाइब्रेरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

वृद्ध भत्ताबाट विद्यालयमा ई–लाइब्रेरी



ओखलढुंगा । सिद्धिचरण नगरपालिका ११ कि ८२ वर्षीया समाजसेवी तथा होमबहादुर–प्रेम कुमारी ट्रष्टका संस्थापक प्रेमकुमारी श्रेष्ठले आफ्नो वृद्ध भत्ताको रकमबाट दुर्गमको विद्यालयमा पुस्तकालय स्थापना गरेकी छिन् ।

उनले जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक विद्यालयमा ई–लाइब्रेरी स्थापना गरेकी हुन् । उनी सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएकी थिइन् ।

प्रेमकुमारीका कान्छो छोरा केन्द्र श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईलाई ई–लाइब्रेरीका सामाग्री हस्तान्तरण गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईले ई–लाइब्रेरीले विद्यार्थीको पठन पाठनमा सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यालयमा पाठ्यपुस्तक तथा अन्य महत्वपूर्ण सामग्रीहरूले शिक्षण सिकाइ सहज हुने शिक्षकहरूको भनाइ छ । विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्कीले विद्यालयमा रहेको २४ वटा कम्प्युटरमार्फत विद्यार्थीहरूले अध्यावधिक गरिएको डिजिटल लाइब्रेरीको उपयोगबाट ज्ञान अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

दाता होमबहादुर–प्रेम कुमारी श्रेष्ठ दम्पतीका छोरा–बुहारीहरू र छोरी–ज्वाईंहरूले बुवा–आमाको नाममा विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिब धनकुमार श्रेष्ठका अनुसार दाता होमबहादुर श्रेष्ठ तथा प्रेमकुमारी श्रेष्ठका परिवारले आफ्नै परिवारको मात्र लगानीमा यसअघि ओखलढुंगाकोे सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा चार वर्ष पहिले ई–लाइब्रेरी स्थापना गरेका थिए ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार १२:२८