‘फेक डकुमेन्ट’ बनाएर वृद्धभत्ता दुरुपयोग भएपछि लाभग्राहीको नाम नवीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

‘फेक डकुमेन्ट’ बनाएर वृद्धभत्ता दुरुपयोग भएपछि लाभग्राहीको नाम नवीकरण



खोटाङ । खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने एक हजार १६५ लाभग्राहीको नामावली नवीकरण गरेको छ । पाँच वडा रहेको गाउँपालिकामा यसअघि कायम १ हजार ३९६ जना लाभग्राहीमध्ये २३१ कम लाभग्राहीको नाम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिष्टममा नवीकरण गरिएको हो ।

विभागले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही वा नयाँ दर्ता गर्ने लाभग्राहीको नाम सिष्टममा नवीकरण गर्ने/गराउने समय भदौ मसान्तसम्म दिएको थियो । कतिपय लाभग्राहीको मृत्यु भएको तथा दोहोरो लगत कट्टा गरिएका कारण नवीकरणका क्रममा लाभग्राहीको संख्या घटेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए ।

गाउँपालिकाका अनुसार यसअघि ४३३ लाभग्राही रहेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ३३५ जना, २८४ लाभग्राही रहेको साकेला गाउँपालिका–२ रतन्छामा २५५ जना, १६९ लाभग्राही रहेको साकेला गाउँपालिका–३ खिदिमामा १५२ जना, २७१ लाभग्राही रहेको साकेला गाउँपालिका–४ मात्तिममा २३७ जना र २३९ लाभग्राही रहेको साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङमा १८६ जना लाभग्राही कायम गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिँदै आएका लाभग्राहीको नामावली नवीकरण तथा नयाँ लाभग्राहीको नाम सिष्टममा दर्ता गर्नका लागि बाँझेच्यानडाँडाको सेखुवा, बाँझे, पिपलडाँडा र डाँडागाउँ तथा मात्तिमविर्तामा ६ दिने नविकरण शिविर सञ्चालन गरिएको थियो । अन्य वडामा भने सम्बन्धित वडा आफैले नवीकरण फारम संकलन गरी सामाजिक सुरक्षा शाखाले लाभग्राहीको नामावली अद्यावधिक गरेको सामाजिक सुरक्षा शाखा प्रमुख राईले बताए । भदौ मसान्तसम्ममा नामावली नवीकरण गर्न वा नयाँ दर्ता गर्न छुटेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले पुन: आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको खुलासा भएको केही समयपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि बैंकमार्फत सम्बन्धित व्यक्तिको हातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।

वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान नै चलाएको थियो ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार ११:१५