एमसीसी अघि बढाउने वा नबढाउने भन्ने विषय सत्तारुढ दलको होः ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एमसीसी अघि बढाउने वा नबढाउने भन्ने विषय सत्तारुढ दलको होः ओली



काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

बिहीबार बिहान काठमाडौं आएको उपाध्यक्ष सुमारको टोलीले सबैभन्दा पहिले ओलीसँग भेटवार्ता गरेको हो । ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् । भेटमा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी थिए ।

भेटमा ओलीले एमसीसीलाई अघि बढाउने वा नबढाउने भन्ने विषय सत्तामा रहेका दलहरूको नै भएको जवाफ ओलीले दिएको बताइएको छ । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीको पृष्ठभूमि उल्लेख गर्दै एमसीसीको सन्दर्भमा एमालेको धारणाबारे जिज्ञासा राखेकी थिइन् ।

अध्यक्ष ओलीले भने सत्ता पक्षले स्पष्ट धारणा नबनाई आफूहरूले धारणा नबनाउने बताएको बताइएको छ । ओली र सुमारबीचमा करीब एक घण्टा भेटवार्ता भएको थियो ।

भेटमा एमाले अध्यक्ष ओलीसहित विदेश विभाग प्रमुख राजन भट्टराई, नेताहरू विष्णु रिमाल, सूर्य थापा लगायत सहभागी थिए । सरकारको नेतृत्वमा रहँदा एमसीसी अघि बढाउन खोजेका ओलीले सरकारबाट हटेपछि भने एमसीसीको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

सरकारमा रहँदा एमसीसी परियोजना संसद्बाट पास गर्नका लागि निकै जोडबल गरेका ओलीसँगको भेटपछि सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने बताइएको छ ।

ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे आफ्नो धारणा बदलेका छन् । त्यसैले पनि ओलीसँग एमसीसीका प्रतिनिधिको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार १९:१४