नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी

कुन देशको कती?



काठमाडौं । नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ ।

विहीबार सार्वजनिक गरेको प्रतिवेदनमा भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैया, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैया, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैया र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैया प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६÷७७’ तयार पारिएको हो ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १९८ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार १८:००