काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडकाे ऋणपत्र आजबाट खुल्ला भएकाे छ । बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको हाे ।
जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैले, सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन्।बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असोज १ गते बिहीबार अनुमति दिएकाे थियाे । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले निष्कासन गर्न लागेकाे ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ ।
आज (असोज १६ गते, शुक्रबारबाट) बाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटाेमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले एनएमबि क्यपिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।






Comment