महंगीले ढाड सेक्यो, तराईमा मूल्य वृद्धि उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महंगीले ढाड सेक्यो, तराईमा मूल्य वृद्धि उच्च



काठमाडौं । मुलुकमा महंगी अचाक्ली बढेकाे छ। राष्ट्र बैंकका अनुसार गत आवमा मूल्यवृद्धि दर (मुद्रास्फिति) ६ प्रतिशत भन्दा माथि रहेको छ। नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्षमा ६ दशमलव १५ प्रतिशत मूल्यवृद्धि रहेको हो। राष्ट्र बैंकले सामेबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा यो मूल्यवृद्धि उच्च हो।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा मुलुकको मूल्यवृद्धि ४ दशमलव ६४ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थको औषत मुद्रास्फिति ८ दशमलव १६ प्रतिशत रहेको छ । उक्त मुद्रास्फिति अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले बढी हो। आघिल्लो आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थको औषत मुद्रास्फिति ३ दशमलव शुन्य ९ प्रतिशत रहेको थियो।

गत आवमा गैर खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फिति तुलनात्मक रुपमा घटेको छ। उक्त क्षेत्रको मुद्रास्फिति ४ दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त क्षेत्रको मुद्रास्फिति दर ५ दशमलव ८६ प्रतिशत रहेको थियो।

गत वर्ष पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा उच्च मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार गत आवमा तराईमा ६ दशमलव २९ प्रतिशत मूल्यवृद्धि, पहाडमा ५ दशमलव १० प्रतिशत र हिमालमा ४ दशमलव ९१ प्रतिशत रहेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा गत आवमा मूल्यवृद्धिदर ६ दशमलव ९६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा तराईमा ४३ दशमलव २६ प्रतिशत, पहाडमा ५ प्रतिशत, हिमालमा ४ दशमलव ९१ प्रतिशत र काठमाडौं उपत्यकामा ४ दशमलव ८६ प्रतिशत मूल्यवृद्धि दर रहेको थियो।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार २०:३५