एनसेलको कर छली प्रकरण: भावना सिंह श्रेष्ठले ८ अर्ब २२ करोड लाभकर छली गरेको ठहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एनसेलको कर छली प्रकरण: भावना सिंह श्रेष्ठले ८ अर्ब २२ करोड लाभकर छली गरेको ठहर




काठमाडौं । महालेखाको ठहरपछि कानमा तेल हालेर सुतेर बसेको ठूला करदाता कार्यालयले एनसेलको २० प्रतिशत स्थानीय लगानीतर्फको लाभकरको विषयमा छानविन अगाडि बढाएको छ ।


२०७२ मा स्वीडेनको टेलियासोनेराले मलेसियाको एक्जिएटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा लाभकर छलेको विषयले संसद्, सडक र अदालतसम्म ठूलै हंगामा भयो ।


सर्वोच्च अदालतको फैसलापछि विवाद अन्त्यजस्तो भए पनि एनसेलको स्वदेशी लगानीकर्ता भावना सिंह श्रेष्ठले ८ अर्ब २२ करोड लाभकर छली गरेको महालेखा परीक्षकको ठहर छ ।


सतिसलाल आर्चायकी श्रीमती भावनासिंह श्रेष्ठको नाममा २० प्रतिशत शेयर खरिद गर्दा कारोबार रकम कम देखाई कर छली गरेको थियो । दृष्टि साप्ताहिकले खबर लेखेको छ ।


महालेखा परीक्षकको प्रतिवेदनले कर मुक्तिको योजना बनाएको भन्दै आयकर ऐन २०५८ को उपदफा ३५ अनुसार छानबिन गरी कर निर्धारण गर्नुपर्ने कुरा औँल्याएको छ ।


उक्त ऐनको दफा ४० (२) मा कुनै व्यक्ति दायित्वको भारबाट हटेमा निजले सो दायित्व निसर्ग गरेको मानिने व्यवस्था रहेको छ । दायित्वको निसर्गमा दायित्व फछ्र्यौट, रद्द, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिने जस्ता कार्य समेत समावेश गर्नुपर्ने हुन्छ ।


ऐनकै दफा ७ (२) (ग) परिच्छेद ८ अनुसार गणना गरिएको कुनै व्यावसायिक सम्पत्ति वा दायित्व निसर्गबाट प्राप्त खुद लाभ सो व्यक्तिले सोही वर्ष प्राप्त गरेको मानिने उल्लेख छ ।


त्यस्तै दफा २७ (१) (क) मा कुनै व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी भुक्तानी गरिएको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम प्रमाणीकरण हुनुपर्ने व्यवस्था छ ।


२०७२ चैत २६ गते एनसेलको ८० प्रतिशत शेयर स्वामित्व १ खर्ब ८० अर्ब ९८ करोड ३७ लाख ६४ हजार रुपैयाँमा मलेसियाको एक्जिएटा ग्रुपले किनेको थियो । त्यसैगरी भावना सिंह श्रेष्ठले २० प्रतिशत शेयर खरिद गर्दा त्यसको बिक्री मूल्य ३६ अर्ब १९ करोड ६७ लाख ५३ हजार रुपैयाँ हुनुपर्ने महालेखा परीक्षकको ठहर छ ।


तर उक्त शेयर खरिद, बिक्रीमा निरजगोविन्द श्रेष्ठले ११ अर्ब ५७ करोड ६० लाख रुपैयाँमा उक्त शेयर बिक्री गरेको भन्दै त्यसैअनुसारको लाभकर तिरेका थिए । तर खरिदकर्ता क्यापिटल भेञ्चर (भावनासिंह श्रेष्ठ) ले उक्त शेयर तीन अर्ब ३१ करोड २४ लाख १५ हजार रुपैयाँमा खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।


यसरी एउटै शेयरको कारोबार विवरण पेश गर्दा बिक्रेता र क्रेताबीच ८ अर्ब २६ कोरोड ३५ लाख ८५ हजार रुपैयाँ अन्तर देखिएको थियो । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसमा बजारमूल्यका आधारमा प्रमाणीकरण गर्दा हुने आयमा २५ प्रतिशतले हुन आउने कर दुई अर्ब छ करोड ५८ लाख ९६ हजार रुपैयाँ असुल गर्नुपर्ने हुन आउँछ ।’


यसैगरी एनसेलको सोही २० प्रतिशत शेयर कारोबारमा बिक्रेताको कर निर्धारण गर्दा ठूला करदाता कार्यालयले ३६ अर्ब १९ करोड ६७ लाख ५३ हजार बिक्री कायम गरेको छ ।

जसआधारमा ३२ अर्ब ८८ करोड ४३ लाख ३८ हजार फरक हुन आउने महालेखा परीक्षकको भनाइ छ । ‘उक्त रकममा २५ प्रतिशतले आठ अर्ब २२ करोड १० लाख ८४ हजार कर भावनासिंह श्रेष्ठले तिर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ०८:५७