आज रक्षा बन्धन तथा जनै पूर्णिमा : यस्तो छ जनैको महत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आज रक्षा बन्धन तथा जनै पूर्णिमा : यस्तो छ जनैको महत्व



काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साेमबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ।


जनै फेर्ने दिन

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।

यस्तो छ जनैको महत्व

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ।

धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ।

जनै धारणका नियम
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।

जनैको एक सूत्र चुँडियो वा जनै लगाएको ६ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।

घरमा जन्म वा मरणको सूतकपछि जनै बदल्ने परम्परा छ ।

जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम छ ।

जनैको वैज्ञानिक महत्त्व
बारम्बार दुःस्वप्न आइरहेको छ भने जनै धारण गर्दा त्यस्तो सपना आउँदैन ।

जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट लगायतका रोगबाट बचाउँछ ।

जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुतेको तन्तुले काम गर्छ ।

दाहिने कानको नसा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुबाट रक्षा हुन्छ ।

कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ ।

कानमा जनै बेर्दा पेट सम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।

जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।

क्वाँटी खाने पर्व

आज ११ थरिका गेडागुडी मिसार्इ भिजाएर टुसा उमारी क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

नेवारी समुदायको गुँपुन्ही

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् ।

बौद्ध धर्मावलम्बीको कामशक्तिमाथि विजय

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ ।

राखी बाँध्ने दिन

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार ०४:००