कुन बैंकमा पाइन्छ सस्तो ऋण ? यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कुन बैंकमा पाइन्छ सस्तो ऋण ? यस्ता छन् सुविधा



काठमाडाै । बैंक तथा वित्तिय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्।निक्षेपको तुलनामा ऋणको विस्तार भने निकै सुस्त बन्दै गएकोमा बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि भन्दै विभिन्न स्किमहरु ल्याएका छन् । कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै कर्जाहरु प्रवाह गर्न लागेको बैंकहरुको भनाई छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुने गरी तोकेको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम नौ दसमलव ३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ । हाल बैंकको आधारदर छ दसमलव सात प्रतिशत रहेको छ ।

सनराइज बैंक

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिनेव्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८।९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्।

यसै गरी बैंकले शेयर धितो कर्जामा ९.९५५ ब्याजदरमाकर्जा प्रवाह गर्ने जनाएको छ । कोरोनाले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यलेबैंकले यो योजना ल्याएको हो। कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले देशका १३४ स्थानमा फैलिएको सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा गरिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिने इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो ।

बैंकका अनुसार ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८ दशमलव ७५ प्रतिशत व्याजदरमा घरजग्गाकर्जा लिन पाउने छन् भने यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।

यसैगरी बैंकले ८ दशमलव ९९ प्रतिशतमा गाडीकर्जा र ९ दशमलव ४९ प्रतिशतमा सेयरको धितो कर्जा प्रवाह गर्ने जनाएको छ ।

उक्त योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट, क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा ५० प्रतिशत छुट प्रदान गरीने बैंकले जानकारी दिएको छ ।

बैंकले कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको जनाएको छ ।

ग्राहकले नेपालभरी फैलिएका बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त सुविधा उपभोग गर्न सकिने जनाइएको छ ।

प्राइम बैंक


प्राइमले बचत खातामा साढे ५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । मुद्दति निक्षेपमा भने ८.२५ प्रतिशतसम्म व्याज दिने सुचनामा उल्लेख छ । कर्जामा भने आधार दर (बेस रेट) मा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याजदर तय गरिने बैंकले उल्लेख गरेको छ । प्राइम बैंकको आधार दर ९.८५ छ ।

एनसीसी बैंक

एनसीसी बैंकले सबै प्रकारका बचत निक्षेपमा ५ प्रतिशत व्याज दिने सुचना सार्वजनिक गरेको छ । मुद्दति खातामा भने ८.२५ प्रतिशतसम्म व्याज दिने एनसीसी बैंकले जानकारी दिएको छ ।
एनसीसी बैंकबाट ऋण लिदा कर्जामा भने उसको आधार दरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज तिर्नुपर्छ । उसको आधार दर १०.३६ प्रतिशत छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा ४ देखि ४.५ प्रतिशतसम्म व्याज दिने भएको छ । यस्तै, मुद्दति निक्षेपमा भने ७.२५ देखि ७.७५ प्रतिशतसम्म व्याज दिनेछ । लक्ष्मी बैंकले कर्जाको व्याज भने आधार दरमा २ देखि ५ प्रतिशत प्रिमियम थप गरेर लिने जानकारी गराएको छ । सो बैंकको आधार दर ९.२३ प्रतिशत छ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ ।

यसका साथै, बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

मेगा बैंक लिमिटेड

आफ्ना ग्राहकहरुलाई बिभिन्न बैंकिङ सेवा दिदै आएको मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बेंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकका अनुसार बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दती खातामा ७.२५ प्रतिशत, संस्थागत मुद्दती खातामा ६.५० प्रतिशत ब्याजदर रहेको जनाइएको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले बचत खातामा ३ देखि ४.५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म व्याज दिइनेछ । सो बैंकबाट कर्जा लिँदा आधारमा ५ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्छ । बैंक अफ काठमाण्डूको आधार दर अहिले ८.९१ प्रतिशत छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न आवास कर्जा र उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने भएकाे छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

उद्यमशील कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचत खातामा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिने भएको छ । सो बैंकले मुद्दति निक्षेपमा भने ६.५ प्रतिशतसम्म व्याज दिनेछ । एभरेष्ट बैंकबाट कर्जा लिदा भने आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर तिर्नुपर्छ । अहिले एभरेष्ट बैंकको आधार दर ७.९५ प्रतिशत छ ।

हिमालयन बैंक

हिमालयन बैंकले ८.४९ प्रतिशत व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत व्याज दरको कर्जा योजनामा एसएमइ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरू रहेका छन् । त्यसैगरी, ९.८९प्रतिशत व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् ।

त्यस्तै बैंकले १०.३९ प्रतिशत व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ। दश वर्षको अबधि सम्मका लागि पाइने एसएमइ कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन्। बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ। ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन्। शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

साे कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्यून रहने छ र यी कर्जाका ग्राहकहरूले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउन सक्नेछन् । ग्राहकहरुले बैंकको देशभरिका ६८ मध्ये कुनै पनि शाखा कार्यालय मार्फत यी कर्जा सुबिधा उपयोग गर्न सकिनेछ ।

नबिल बैंक

नबिल बैंकले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने भएको छ ।

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने बैंकले जानकारी दिएको छ । बैंकले यो योजना सीमित समयका लागि ल्याएको हो । बैंकले यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन अाठ देखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकको बचत खातामा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । असार मसान्तसम्म बैंकको आधार दर ९ दशमलव ३ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा १४ दशमलव ३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन, शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४ दशमलव ३ प्रतिशत ब्याज लाग्ने छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले सस्तो ब्याजदर मै घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले ९ दशमलव ९९ प्रतिशत व्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले यस कर्जाको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । बैंकले कर्जा स्वीकृत भएको १ वर्षसम्म ब्याजदरमा परिवर्तन नगर्ने र घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गरिने जनाएको छ ।

त्यस्तै बैंकले यस योजनाको कर्जामा अग्रिम भुक्तानी गरेमा शुल्क नलाग्ने, ३० वर्षसम्मको कर्जा भुक्तानी तालिका प्रदान गरिने, २ वर्षसम्म ग्रेस अवधि दिईने, र ग्रेस अवधिमा ब्याजमात्र भुक्तानी गर्न सकिने जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार २२:०४