धितोपत्र सम्बन्धी चार वटा नियमावली संशोधन ,बैंकलाई ब्रोकर लाइसेन्स, विदेशी मुद्रामा डिवेन्चर जारी गर्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धितोपत्र सम्बन्धी चार वटा नियमावली संशोधन ,बैंकलाई ब्रोकर लाइसेन्स, विदेशी मुद्रामा डिवेन्चर जारी गर्न सक्ने



नेपाल धितोपत्र बोर्डले सोमबार धितोपत्र सम्बन्धी चार वटा नियमावली संशोधन गरेको छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनलाई समसामयिक बनाउँदै लाने क्रममा साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई संशोधन गरेको हो । संशोधित नियमावली लागू गराउन बोर्डले अर्थ मन्त्रालयको स्वीकृति लिई सकेको जानकारी दिएको छ ।बोर्डले संशोधित नियमावलीहरु आगामी फागुन १ गते देखि लागू हुने जनाएको छ ।


बोर्डले धितोपत्र नियमावली २०६४लाई संशोधन गर्दै बाणिज्य बैंक वा विशेष एनेद्वारा स्थापित वित्तीय संस्थाको ५१ प्रतिशत सेयर लगानी भएको सहायक कम्पनीले ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको छ । यसैगरी धितोपत्र व्यापारीको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याइएको छ भने धितोपत्र दलाल तथा धितोपत्र व्यापारीलाई मर्जर तथा एक्विजिशनमा जानसक्ने व्यवस्था गरेको छ । यसैगरी बोर्डले सार्वजनिक सेयर निष्काशनको समयावधिलाई पनि घटाएको छ । पछिल्लो सयम आईपीओ निष्काशनमा प्रविधिको प्रयोग बढेको भन्दै सेयर निष्काशतनको ३० दिनको समयावधिलाई घटाएर १५ दिनमा झारेको छ । अबका दिनमा संगठित संस्थाले विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार २०:५०